१३ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सातबुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने यस प्रक्रियाबाट बाहिरिएका छन् । पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताका लागि निरन्तर संवाद भइरहे पनि घिसिङ सहमतिमा सहभागी नभएको जनाइएको छ ।
रास्वपा र बालेन दुवै पक्षसँग निरन्तर संवादमा रहे पनि घिसिङले आफ्नो पार्टीको अस्तित्व नै मेटिने गरी हुने एकता स्वीकार्य नहुने अडान लिँदै आएका थिए । उनले नयाँ शक्तिहरूबीच एकता आवश्यक भए पनि सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने धारणा सार्वजनिक रूपमै राख्दै आएका छन् ।
एकतापछि कायम हुने पार्टीको नाम, संगठनात्मक संरचना र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ सहमति प्रक्रियाबाट अलग भएको बताइएको छ । विशेषगरी नेतृत्व र भूमिकाको स्पष्टता नदेखिएको तथा आफ्नो पक्षको पहिचान कमजोर हुने चिन्ताका कारण उनी पछि हटेको स्रोतको भनाइ छ ।
यद्यपि रास्वपा र बालेन शाह पक्षका नेताहरूले कुलमान घिसिङसँग एकताको ढोका अझै बन्द नभएको बताएका छन् । उनीहरूका अनुसार संवादको सम्भावना कायमै छ र आगामी दिनमा सहकार्यका प्रयास जारी रहनेछ ।
रवि लामिछाने र बालेन शाहबीच भएको सातबुँदे सहमतिमा ‘अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने’ विषय उल्लेख छ । यही बुँदालाई आधार मानेर घिसिङलगायत अन्य वैकल्पिक नेताहरूसँग एकता प्रयास अघि बढाइने नेताहरूको दाबी छ ।
वैकल्पिक राजनीतिमा एकताको अपेक्षा बढिरहेका बेला प्रमुख पात्रहरूबीच पूर्ण सहमति नजुट्दा आगामी राजनीतिक समीकरण कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।















