Logo

१३ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सातबुँदे सहमतिप्रति रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त सहमतिलाई स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।

हरिशरण लामिछानेले सहमतिप्रति समर्थन जनाउँदै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो दाबी रहने संकेत पनि गरेका छन् । उनले आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको उल्लेख गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो “स्वतन्त्र उम्मेदवारी” रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु ।’ उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

रास्वपा र बालेन शाहबीच भएको सातबुँदे सहमतिले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको नयाँ संकेत दिएको बेला हरिशरण लामिछानेको सम्भावित उम्मेदवारी घोषणाले काठमाडौँको स्थानीय राजनीति थप रोचक बन्ने देखिएको छ ।

आगामी दिनमा उनको औपचारिक निर्णय र राजनीतिक गतिविधिले काठमाडौँ महानगरको चुनावी समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार