Logo

१३ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने क्रममा आइतबार पुनः २० अर्ब रुपैयाँ बजारबाट खिच्ने प्रक्रिया अघि बढाएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अतिरिक्त रकमलाई प्रशोचन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज दिउँसो २ बजे बोलकबोल आह्वान गरेको हो । पुस महिना लागेयता बैंकहरूमा तरलताको चाप बढ्दै गएपछि राष्ट्र बैंकले चौथो पटक यस किसिमको कदम चालेको हो, जसअन्तर्गत १२ दिनको अवधिका लागि यो रकम तानिन लागिएको हो ।

यसअघि पनि पुस २, ६ र ९ गते गरी पटक-पटक अर्बौँ रुपैयाँ तरलता प्रशोचन गरिसकेको केन्द्रीय बैंकले यसपटकको बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूका लागि निश्चित मापदण्ड तोकेको छ । इच्छुक क, ख, र ग वर्गका संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बहुब्याजदर प्रणालीमा आधारित यस प्रक्रियामा घटीमा ५ करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव पेस गर्नुपर्नेछ भने यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न मिल्ने सुविधा प्रदान गरिएको छ ।

मौद्रिक व्यवस्थापन विभागका अनुसार यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी पुस २५ गते गरिनेछ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएर ब्याजदरमा अस्वभाविक उतारचढाव नआओस् भन्नका लागि राष्ट्र बैंकले सक्रिय रूपमा बजार हस्तक्षेप गरिरहेको देखिन्छ । यसअघि पुस ९ गते मात्रै २५ अर्ब रुपैयाँ खिचिएकोमा त्यसको केही दिनमै फेरि २० अर्ब रुपैयाँ तान्ने निर्णयले वित्तीय बजारमा सन्तुलन कायम राख्ने केन्द्रीय बैंकको नीतिलाई थप प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार