१३ पुष, काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालिरहेका बालेन शाहले अब स्थानीय सरकारको परिधि नाघेर राष्ट्रिय राजनीतिको केन्द्र भागमा प्रवेश गर्ने निश्चित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको भनिएको महत्वपूर्ण ७ बुँदे सहमतिसँगै बालेनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी थालेका छन् । यो सहमतिले बालेनलाई केवल सांसदको उम्मेदवार मात्र नभई, निर्वाचनपश्चात् रास्वपा संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा समेत प्रस्तुत गर्ने लक्ष्य राखेको देखिन्छ ।
संसदीय निर्वाचनको महासंग्राममा उत्रिनका लागि बालेनले हाल ओगटेको मेयरको ओहोदा भने बाधक बन्ने देखिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ताको समय तोकिएकाले कानुनी जटिलता फुकाउन उनले सोही मिति वा सोभन्दा अगावै मेयर पदबाट राजीनामा दिनुपर्ने अनिवार्य परिस्थिति सिर्जना भएको छ । आयोगका स्रोतहरूका अनुसार बहालवाला जनप्रतिनिधिले लाभको पदमा रहेर संसदीय निर्वाचन लड्न नपाउने संवैधानिक व्यवस्थाका कारण बालेनले अबको केही दिनभित्रै महानगरको साँचो बुझाउनुपर्नेछ ।
बालेन शाहले राजीनामा दिएसँगै काठमाडौँ महानगरपालिकाको अभिभावकत्वमा पनि फेरबदल आउनेछ । बालेनको बहिर्गमनपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको रूपमा महानगरको नेतृत्व सम्हाल्नेछिन् । देशकै सबैभन्दा ठुलो र शक्तिशाली महानगरको बागडोर छोडेर देशकै नेतृत्व गर्ने अठोटका साथ बालेनले चाल्न लागेको यो कदमले आगामी निर्वाचनको समीकरणलाई निकै रोचक र चुनौतीपूर्ण बनाउने देखिएको छ ।















