Logo

१३ पुष, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग मिसावट नगर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच सहकार्यको औपचारिक सम्झौता भएको दिन नै सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै आफ्नो पार्टी कुनै पनि शक्तिसँग एकता वा गठबन्धनको पक्षमा नरहेको उद्घोष गरेका हुन् । उनले श्रम संस्कृति पार्टी कसैसँग नमिल्ने र मिसावट विनाको मौलिक राजनीतिलाई नै निरन्तरता दिने दृढता व्यक्त गरेका छन् ।

साम्पाङले वर्तमान राजनीतिक अवस्थामा धेरैले विभिन्न दलसँगको तालमेलका बारेमा अड्कलबाजी गरिरहेको तर्फ संकेत गर्दै जसलाई जोसँग मिल्न मन छ, उसलाई मिल्ने स्वतन्त्रता रहेको तर आफ्नो बाटो भने फरक रहेको बताएका छन् । उनले आफ्नो दलले यो देशको ढुङ्गा र माटोको राजनीति गर्ने दाबी गर्दै कुनै पनि हालतमा स्वदेशी विचार र मौलिकपनलाई अन्य दलको विचारधारासँग नमिसाउने जिकिर गरेका छन् । चुनावको मुखमा हुने यस्ता एकताहरूलाई उनले अप्राकृतिक सम्मिश्रणको रूपमा चित्रण गर्दै आफ्नो पार्टीको शुद्धता कायम राख्ने बताएका छन् ।

कार्यकर्ता र शुभेच्छुकहरूलाई कुनै पनि प्रकारको भ्रममा नपर्न आग्रह गर्दै साम्पाङले श्रम संस्कृति पार्टीले आफ्नो छुट्टै अस्तित्व र पहिचानका साथ अगाडि बढ्ने स्पष्ट पारेका छन् । बालेन र रविको सहकार्यले राजनीतिमा नयाँ समीकरण बने पनि साम्पाङको यो एक्लै हिँड्ने निर्णयले धरान र वरपरका क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएको छ ।

उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन सुझाव दिँदै आफ्नो पार्टीको आफ्नै मौलिक एजेन्डा र श्रमको राजनीतिले नै जनताको विश्वास जित्ने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार