Logo

१३ पुष, काठमाडौं । मुलुकका तीन प्रभावशाली र चर्चित स्थानीय तहका प्रमुखहरू एकसाथ संसदीय राजनीतिको मैदानमा होमिने भएपछि काठमाडौँ, भरतपुर र धरानको नेतृत्व तह एकैपटक खाली हुने अवस्था सिर्जना भएको छ ।

काठमाडौँका मेयर बालेन शाह, भरतपुरकी मेयर रेनु दाहाल र धरानका मेयर हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेसँगै यी तीनै महत्वपूर्ण शहरहरू अबको केही दिनमै मेयरविहीन बन्ने निश्चित भएको हो । निर्वाचन कानुनअनुसार उम्मेदवारी दर्ता गर्नुअघि नै बहालवाला पदबाट राजीनामा दिनुपर्ने बाध्यताका कारण माघ ६ गतेको मनोनयनअघि नै यी तीनै जनाले महानगर र उपमहानगरको साँचो बुझाउनुपर्नेछ ।

यी तीनै जनाको बहिर्गमनले स्थानीय सरकारको नेतृत्वमा ठुलो रिक्तता मात्र ल्याउने छैन, बरु लामो समयसम्म यी शहरहरूले निर्वाचित प्रमुख पाउने छैनन् । स्थानीय तह निर्वाचन ऐनअनुसार पदावधि सकिन एक वर्षभन्दा कम समय बाँकी रहँदा उपनिर्वाचन नहुने व्यवस्था भएकाले २०८४ वैशाखसम्मका लागि काठमाडौँ, भरतपुर र धरान कार्यवाहककै भरमा चल्नुपर्ने देखिएको छ । बालेनले राजीनामा दिएपछि सुनिता डंगोलले काठमाडौँको कमान्ड सम्हाल्नेछिन् भने भरतपुर र धरानमा पनि उपमेयरहरूले नै कार्यवाहकको जिम्मेवारी पाउनेछन् ।

आफ्नो कार्यकाल डेढ वर्ष बाँकी रहँदै प्रमुखहरूले पद त्याग गर्दा स्थानीय विकासका अधुरा योजनाहरू र चुनावी प्रतिबद्धताहरू अलपत्र पर्ने जोखिम बढेको छ । जनताले पाँच वर्षका लागि दिएको जनादेशलाई बीचैमा छाडेर संघीय सत्ताको दौडमा निस्कनुले ुस्थानीय सरकारुप्रतिको गम्भीरतामाथि समेत प्रश्न उठाएको छ ।

यसरी देशका तीन मुख्य शहरहरू एकैपटक नेतृत्वविहीन हुने परिस्थिति र त्यसले स्थानीय कार्यसम्पादनमा पार्ने असर अहिले राजनीतिक र नागरिक वृत्तमा निकै चिन्ताको विषय बनेको छ ।


सम्बन्धित समाचार