१३ पुष, काठमाडौं । नेपाली राजनीतिमा हस्तीको पहिचान बनाएकी र तत्कालीन माओवादी आन्दोलनको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने इतिहास रचेकी एक्ली महिला नेतृ पम्फा भुसालले चुनावी राजनीतिबाट विश्राम लिने घोषणा गरेकी छन् ।
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गर्दै उनले संसदीय यात्रामा अल्पविराम लगाएकी हुन् । आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यो घोषणाले नेकपा (माओवादी केन्द्र)को पृष्ठभूमिबाट आएका पुराना नेताहरूमा नयाँ पुस्तालाई स्थान दिने कि आफैँ पदमा टाँसिइरहने भन्ने बहसलाई पुनः सतहमा ल्याइदिएको छ ।
भुसालको यो निर्णयलाई गत २०७९ को निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा व्यहोर्नुपरेको पराजय र बदलिँदो राजनीतिक लहरसँग जोडेर हेर्न सकिन्छ। त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भएपछि भुसालले जनमतको नयाँ ट्रेन्ड र पपुलिष्ट राजनीतिको दबाबलाई नजिकबाट महसुस गरेकी थिइन्। पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी र सत्ताको केन्द्रमा रहेकी उनले यसपटक भने आफ्नो राजकीय अनुभवलाई पार्टीको सांगठनिक सुदृढीकरण र नीति निर्माणमा खर्चिने रणनीतिक बाटो रोजेकी छन् ।
उनले आफ्नो घोषणामा अनुभव र सिकाइलाई पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नेू उल्लेख गर्नुले उनी अब चुनावी प्रतिस्पर्धाभन्दा पार्टीको थिङ्क ट्याङ्कु वा संगठनको सारथी बन्न चाहेको संकेत गर्दछ।
र्टीभित्रका प्रभावशाली नेताहरूले स्वेच्छिक रूपमा चुनावी मैदान छोड्नुलाई राजनीतिक वृत्तमा एउटा सकारात्मक संस्कारको रूपमा पनि विश्लेषण गरिएको छ । भुसालको यो कदमले एकातिर युवा उम्मेदवारहरूका लागि बाटो प्रशस्त गरिदिएको छ भने अर्कोतिर पार्टीलाई पुराना अनुहारमात्र बोक्ने दलको आरोपबाट जोगिन केही राहत मिलेको छ ।
आगामी निर्वाचनमा पार्टीका अन्य उम्मेदवारलाई जिताउन सक्रिय रहने उनको प्रतिबद्धताले चुनावी मोर्चामा उनको भूमिका फरक तर महत्वपूर्ण रहने देखिन्छ । यसरी दुई दशकभन्दा लामो सक्रिय संसदीय अभ्यासबाट भुसालको यो बहिर्गमनले अन्य पुराना नेताहरूलाई पनि सोच्न बाध्य बनाएको छ ।















