Logo

१३ पुष, काठमाडौं । आसन्न निर्वाचनको संघारमा नेपाली कांग्रेसले आफ्नो आन्तरिक संगठनलाई मजबुत बनाउन र असन्तुष्ट पक्षलाई मूलधारमा फर्काउन आममाफी को रणनीतिक कदम चालेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गतेको निर्णयअनुसार, विगतका विभिन्न निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, तिनका प्रस्तावक र समर्थक रहेका तथा पार्टी हितविपरीत कार्य गरी अनुशासनको कारबाहीमा परेका सबै नेता–कार्यकर्ताको कारबाही फुकुवा गरिएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत आइतबार जारी गरिएको परिपत्रले देशभरका मातहतका निकायलाई यो निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ, जसलाई चुनावी मैदानमा एकीकृत शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारीका रूपमा हेरिएको छ ।

यद्यपि, कांग्रेसले दिएको यो माफीमा केही सर्त र बन्देजहरू भने कायम राखिएका छन् । कारबाही फुकुवा भए पनि ती नेता(कार्यकर्ताले पार्टीमा पहिले ओगटेको पद भने तत्काल फिर्ता पाउने छैनन्। उनीहरूले केवल आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई पार्टीको सामान्य सदस्यको रूपमा सक्रिय हुने बाटो खुलेको छ तर सांगठनिक नेतृत्वमा पुनरागमनका लागि भने केही समय कुर्नुपर्ने देखिन्छ। पार्टीले यसअघि स्वतन्त्र बसेका वा अन्य दलमा प्रवेश गरेका पूर्वकांग्रेसीहरूलाई पनि स–सम्मान घर फर्किन हार्दिक आह्वान गरेको छ, जसमा उनीहरूलाई क्रियाशील सदस्यतासहित उचित जिम्मेवारी दिने लचकता समेत देखाइएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, नयाँ वैकल्पिक शक्तिहरूको उदय र चुनावी चुनौतीका बीच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन यो घर फर्क अभियान चलाएको हो । निर्वाचनको मुखमा पार्टीभित्रको गुटबन्दी र आन्तरिक अन्तर्घातले पुर्‍याउन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सभापति शेरबहादुर देउवाले उदारता देखाएको देखिन्छ ।

यस निर्णयले एकातिर कारबाहीमा परेर निष्क्रिय रहेका पुराना कार्यकर्तामा उत्साह भरेको छ भने अर्कोतिर चुनावमा बागी उठ्ने प्रवृत्तिलाई कत्तिको निरुत्साहित गर्छ भन्ने प्रश्न पनि उब्जाएको छ । जे भए पनि, यो परिपत्रसँगै कांग्रेस अब कुनै पनि आन्तरिक कलहलाई थाती राखेर पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित हुने संकेत दिएको छ ।


सम्बन्धित समाचार