Logo

१४ पौष, काठमाडौँ । मधेशका प्रमुख दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हिजो एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् ।

दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको गहन मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्न पार्टी एकताको आवश्यकता महसुस गरेको सहमति पत्रमा उल्लेख छ । संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दाहरूलाई सशक्त बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने साझा लक्ष्यका साथ एकीकरणको निर्णय गरिएको जनाइएको छ ।

सहमति पत्रमा मधेश आन्दोलनबाट उठेका मुद्दाहरूलाई संस्थागत गर्न, मधेशी समुदायको अधिकार सुनिश्चित गर्न तथा राष्ट्रिय राजनीतिमा मधेशको आवाजलाई थप मजबुत बनाउने उद्देश्यले एकीकृत पार्टी अघि बढ्ने उल्लेख गरिएको छ । दुवै पार्टीले विगतका मतभेदलाई अन्त्य गर्दै साझा एजेन्डामा केन्द्रित भएर राजनीतिक स्थिरता र सुशासनका पक्षमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार जसपा नेपाल र लोसपा नेपालबीचको एकताले मधेश केन्द्रित राजनीतिलाई नयाँ दिशा दिनुका साथै राष्ट्रिय राजनीतिमा पनि उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ । एकीकरणको औपचारिक प्रक्रिया, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनबारे आगामी दिनमा थप निर्णय हुने नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार