१४ पौष, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने आज (सोमबार) अन्तिम दिन हो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरूले आजभित्र समानुपातिकतर्फको बन्द सूची आयोगमा बुझाइसक्नुपर्नेछ । यसअघि आयोगले पुस १३ र १४ गतेसम्म बन्द सूची पेश गर्न सकिने व्यवस्था गरेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पेस गरिएका समानुपातिक बन्द सूचीबारे पुस १५ गतेदेखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनी मापदण्ड, समावेशिता, कोटा र आवश्यक प्रक्रिया पूरा भए-नभएको जाँच गरिने आयोगले जनाएको छ ।
छानबिनपछि आयोगले पुस २१ गतेदेखि २७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउने तथा सूची मिलाउने अवसर दिने कार्यतालिका तय गरेको छ । यस अवधिमा दलहरूले आयोगको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सक्नेछन् ।
त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलहरूले मिलाएर बुझाएको बन्द सूची अन्तिम रूपमा ठीक छ वा छैन भन्ने पुनः परीक्षण गरिनेछ । आयोगले माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गर्ने र सबै प्रक्रिया पूरा भएपछि माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गर्ने जनाएको छ ।
आयोगले समानुपातिक सूची तयार गर्दा संविधान र कानुनले व्यवस्था गरेको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची महत्वपूर्ण चरण मानिएको छ ।















