१४ पौष, रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ । बढ्दो मतदाता सङ्ख्यालाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालयले यसपटक मतदानस्थल र केन्द्रहरू थप गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, २०७९ सालको निर्वाचनमा ५ सय २३ वटा मतदान केन्द्र रहेका थिए भने यसपटक १८ वटा थपेर ५ सय ४१ वटामा पुर्याइएको छ । मतदानस्थलको सङ्ख्या पनि २ सय ७६ बाट बढाएर २ सय ७७ कायम गरिएको छ। नयाँ मतदानस्थल गरुडा नगरपालिका – ६ मा थपिएको कार्यालयले जनाएको छ ।
यस वर्ष रौतहटमा मतदाताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो निर्वाचनमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता थिए भने यसपटक २१ हजार १ सय ५६ जना नयाँ मतदाता थपिएपछि जिल्लाभर कूल मतदाताको सङ्ख्या ४ लाख ३६ हजार ६ सय ११ पुगेको छ । रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका छन्, कुल ४ वटा निर्वाचन क्षेत्र र १५७ वटा वडाहरू छन् ।
२०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट माधवकुमार नेपाल, क्षेत्र नम्बर २ बाट किरण साह, क्षेत्र नम्बर ३ बाट प्रभु साह र क्षेत्र नम्बर ४ बाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए। सो निर्वाचनमा करिब ६८ प्रतिशत अर्थात् २ लाख ८२ हजार ४ सय ३० मतदाताले मतदानमा भाग लिएका थिए ।
जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र प्रभावकारी ढंगले मतदान गराउन नयाँ केन्द्र र स्थल थप गरेको जनाएको छ ।
















