Logo

१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलन छानबिन आयोगमा उपस्थित भई बयान दिँदैछन् ।

गत भदौ २३ र २४ गते मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शन र सो क्रममा उत्पन्न परिस्थितिको सम्बन्धमा सोधपुछका लागि आयोगले उहाँलाई बोलाएको हो । तत्कालीन समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका कारण आन्दोलनका क्रममा भएका निर्णय र सुरक्षा संयन्त्रको परिचालनबारे स्पष्ट पार्न लेखक आयोगमा जान लाग्नुभएको हो ।

आयोगले सुरुमा पुस १३ गतेकै लागि समय तय गरे पनि लेखक सोमबार दिउँसो १२ बजे मात्र आयोगको कार्यालय पुग्ने उहाँको सचिवालयले स्पष्ट पारेको छ । यसअघि बयानका लागि जाने वा नजाने भन्ने विषयमा उहाँले पार्टीका शीर्ष नेतृत्व र कानुनी विज्ञहरूसँग घनिभूत परामर्श गर्नुभएको थियो । पार्टी बैठकमा समेत नेताहरूले आयोगको गरिमालाई सम्मान गर्दै बयान दिन जानु उपयुक्त हुने सुझाव दिएपछि उहाँले यसअघि नै आफू आयोगको काममा सहयोग गर्न तयार रहेको सार्वजनिक जानकारी गराइसक्नुभएको थियो ।

बयान प्रक्रिया सकिएलगत्तै लेखकले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ । पत्रकार सम्मेलनमार्फत उहाँले आयोगमा राखेका कुराहरू र आन्दोलनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा गृहमन्त्रीको हैसियतमा उहाँको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला हुन लागेको यो बयान र त्यसपछिको पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै