Logo

१४ पुष, काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा केही गिरावट आएको छ भने चाँदीले आफ्नो ऐतिहासिक रेकर्ड तोड्दै नयाँ उचाई कायम गरेको छ ।

आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य सोमबार प्रतितोला ६०० रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। सुनको मूल्यमा सामान्य गिरावट आए पनि बजारमा यसको मूल्य अझै उच्च विन्दुमै रहेको व्यवसायीहरू बताउँछन् ।

सुनको मूल्य ओरालो लाग्दा चाँदीले भने महँगीको नयाँ रेकर्ड कायम गरेको छ । सोमबार चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा चाँदीका लागि हालसम्मकै उच्च हो । आइतबार ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीले एकैदिन पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ ऐतिहासिक उचाई चुमेको हो । अन्तराष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा यस्तो प्रभाव देखिएको हो ।

यसैबीच, राजनीतिक घटनाक्रमतर्फ निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक ‘जेनजी आन्दोलन’ छानबिन आयोगमा बयान दिन जाँदैछन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका सन्दर्भमा सोधपुछका लागि आयोगले बोलाएपछि उनी सोमबार मध्यान्ह १२ बजे उपस्थित हुन लागेका हुन् । बयान सकिएलगत्तै उनले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।


सम्बन्धित समाचार
भर्खरै