Logo

१४ पुष, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणको सहमति सार्वजनिक भएसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन्।

मेयर सिंहले एकीकरणप्रति प्रश्न उठाउँदै लेखेका छन्, “मन सफा गरेर एकता भएको हो नि नेता ज्युहरू ? यो एकता चुनावपछि पनि कायम रहोस् । युवाहरूलाई पनि नेतृत्वमा अगाडि बढाऔँ । यो माटोको लागि हामी सबैले केही गर्नु छ भन्ने सोचका साथ अगाडि बढौँ।”

उनको यो टिप्पणीलाई मधेस केन्द्रित दलहरूमा बारम्बार देखिँदै आएको फुट र जुटको चक्रप्रति व्यक्त असन्तुष्टिका रूपमा हेरिएको छ। जसपा नेपालबाटै निर्वाचित भएका सिंह हाल फरक राजनीतिक दलमा आबद्ध छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सिंहको अभिव्यक्तिले एकीकरणको दीर्घकालीन स्थायित्व, आपसी विश्वास र नेतृत्वमा युवा पुस्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। एकीकरणले मधेस केन्द्रित राजनीतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिए पनि यसले आन्तरिक मनोभाव र भविष्यको स्थायित्वबारे बहस सुरु गराएको छ।

आइतबार काठमाडौँमा सम्पन्न दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले सैद्धान्तिक रूपमा पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो। उपेन्द्र यादव र महन्त ठाकुरद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता तथा सामाजिक न्यायका मुद्दालाई सुदृढ बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ।

सम्झौताअनुसार एकीकरणपछि एउटै पार्टी र एउटै चुनाव चिन्ह प्रयोग गरिने तथा उम्मेदवार छनोट सहमतिका आधारमा गरिने सहमति भएको छ। यद्यपि नयाँ पार्टीको नाम, चुनाव चिन्ह र संगठनात्मक संरचनाबारे भने थप छलफलपछि मात्र टुंगो लगाइने बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै