१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा उपस्थित भई बयान दिनुभएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेको थियो । आन्दोलनका समयमा गृह प्रशासनको कमान्ड सम्हाल्नुभएका लेखकलाई तत्कालीन अवस्थामा सुरक्षा परिचालन र सरकारी निर्णयहरूका बारेमा स्पष्ट पार्न आयोगले बोलाएको हो ।
आयोगले उहाँलाई आइतबार नै उपस्थित हुन पत्राचार गरे तापनि एक दिन ढिलो गरी सोमबार मात्र बयानका लागि पुग्नुभएको हो । आयोगको कार्यालयमा झन्डै दुई घण्टा बिताउनुभएका लेखकले तत्कालीन समयमा भएका घटनाक्रम, भीड नियन्त्रणका लागि चालिएका कदम र सुरक्षा निकायलाई दिइएको निर्देशनका बारेमा विस्तृत विवरण पेश गर्नुभएको छ । आन्दोलनका क्रममा केही व्यक्तिको मृत्यु हुनुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि सरकारले यसको गहिराइमा पुग्न न्यायिक आयोग बनाएको थियो ।
बयान प्रक्रिया सकिएलगत्तै लेखकले सिंहदरबारमै विशेष पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा राख्ने तयारी गर्नुभएको छ । उहाँले आयोगलाई दिएको बयानका मुख्य अंशहरू र आन्दोलनका बेलाको परिस्थितिबारे सार्वजनिक जानकारी गराउने अपेक्षा गरिएको छ । पूर्वन्यायाधीश कार्की नेतृत्वको यस आयोगले तत्कालीन मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू र आन्दोलनकारी पक्षसँग पनि छलफल गरी छिट्टै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।















