Logo

१४ पुष, काठमाडौं । मधेश केन्द्रित राजनीतिमा नाटकीय परिवर्तन देखिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) की सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गरेका छन् ।

लोसपा र जसपाबीच आइतबार भएको एकीकरणको प्रयासलाई काउन्टर दिने गरी रेणु र प्रदीपले बहुमत केन्द्रीय सदस्यहरूसहित उपेन्द्र यादवसँग हात मिलाउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुवै पक्षले एकताको सहमतिपत्रमा हस्ताक्षर गर्दै मधेशको एजेन्डालाई थप सशक्त बनाउन यो एकता अनिवार्य भएको दाबी गरेका छन् ।

सहमतिपत्रमा उल्लेख भएअनुसार, रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू अब औपचारिक रूपमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै समाहित भएका छन् । यो कदमले मधेशमा रहेका विभिन्न राजनीतिक शक्तिहरूबीच फेरि एकपटक ध्रुवीकरणलाई तीव्र बनाइदिएको छ । लोसपा र अर्को समूहबीचको एकतालाई अस्वीकार गर्दै यो समूहले उपेन्द्र यादवको नेतृत्वलाई स्वीकार गर्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । विशेषगरी निर्वाचनको संघारमा भएको यो एकताले पुरानो जसपालाई पुनर्गठित र थप बलियो बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

मधेशी राजनीतिमा प्रभावशाली मानिने रेणु र प्रदीपको यो निर्णयले उपेन्द्र यादवलाई थप शक्ति प्रदान गरेको छ । विगतमा विभिन्न कारणले अलग भएका नेताहरू फेरि एक ठाउँमा उभिएपछि मधेशका मुद्दाहरू सम्बोधन गर्न र आगामी निर्वाचनमा साझा मोर्चा बनाएर जान सहज हुने उनीहरूको तर्क छ । यो एकताले मधेशको राजनीतिमा कुन शक्ति बढी कसिलो र बलियो बन्छ भन्ने नयाँ बहस समेत सिर्जना गरिदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै