Logo

१४ पुष, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा राजनीतिक दलहरूको निकै बाक्लो उपस्थिति देखिएको छ ।

आयोगले आज पुस १४ गतेलाई सूची बुझाउने अन्तिम समय सीमा तोकेका कारण बिहानैदेखि विभिन्न दलका प्रतिनिधिहरू फाइल र दस्तावेज बोकेर कान्तिपथस्थित आयोग परिसर पुग्ने क्रम जारी छ । आयोग परिसरको खुल्ला चौरमा बसेर दलका नेताहरू अन्तिम समयसम्म उम्मेदवारहरूको नाम रुजु गर्ने र कानुनी प्रक्रिया मिलाउन व्यस्त देखिन्छन् ।

निर्वाचन आयोगका अनुसार आज अपराह्नसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आफ्नो बन्द सूची औपचारिक रूपमा बुझाइसकेका छन् । ठूला दलहरू भने आन्तरिक भागबन्डा र क्लस्टर मिलाउने अन्तिम गृहकार्यमा रहेका कारण केही ढिला गरी आयोग पुग्ने तयारीमा देखिएका छन् । समानुपातिकतर्फको सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम लगायतका क्लस्टरहरू अनिवार्य रूपमा मिलाउनुपर्ने कानुनी व्यवस्था भएकाले दलहरूलाई सूची तयार पार्न निकै कसरत परेको देखिन्छ ।

आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने दलहरूले ल्याएका फाइलहरू दर्ता गर्न छुट्टै डेस्कको व्यवस्था गरिएको छ। आज कार्यालय समयभित्र आयोग पुगेर टोकन लिने दलहरूलाई मात्रै सूची बुझाउन दिइने आयोगको तयारी छ । अन्तिम दिन भएकाले सबैजसो दलहरूले आजै रातिसम्ममा आफ्ना उम्मेदवारहरूको नामावली बुझाइसक्ने अपेक्षा गरिएको छ । यो प्रक्रिया सकिएपछि आयोगले उम्मेदवारहरूको नाममा रहेका दाबी विरोध र दोहोरोपनाको छानबिन गरी बन्द सूचीलाई अन्तिम रूप दिनेछ ।


सम्बन्धित समाचार
भर्खरै