Logo

Blue and Black Modern Human Resources Management Presentation – 3

१४ पुष, काठमाडौं । नेपालको राष्ट्रिय र मधेशी राजनीतिमा केही समयदेखि रक्षात्मक अवस्थामा देखिनुभएका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसप) नेपाल फेरि एकपटक शक्तिशाली शक्तिको रूपमा उदाएको छ ।

२०८१ वैशाखमा अशोक राईले पार्टी फुटाएर छुट्टै दल बनाएपछि संसद् र सडक दुवैतिर कमजोर महसुस गरिएको जसपा नेपालले पछिल्लो एक साताभित्रै नाटकीय रूपमा आफ्नो शक्ति सञ्चय गरेको छ ।

स्वाधीन मधेश जनअभियानसँग सहकार्य

उपेन्द्र यादवको यो ‘कमब्याक’ रणनीति पुस ९ गतेबाट औपचारिक रूपमा सुरु भएको थियो। यादवले कैलाश महतो नेतृत्वको स्वाधीन मधेश जनअभियानसँग कार्यगत एकताको सहमति गर्दै छरिएका मधेशी शक्तिलाई जोड्ने अभियानको थालनी गर्नुभयो । यसले मधेशका तल्लो तहका कार्यकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

मधेशका दुई ध्रुव एकै ठाउँमा

यस अभियानको सबैभन्दा ठूलो सफलता आइतबार मिल्यो, जब मधेश राजनीतिका अर्का शिखर व्यक्तित्व महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच पार्टी एकताको घोषणा भयो । वर्षौंदेखि अलग(अलग रहेका यी दुई ठूला मधेशी शक्ति एक ठाउँमा उभिएपछि राष्ट्रिय राजनीतिमा नै नयाँ हलचल पैदा भएको छ ।

रेणु र प्रदीपको घरफिर्ती

एकताको यो सिलसिला सोमबार पनि जारी रह्यो । अशोक राई नेतृत्वको जसपाका प्रभावशाली नेताहरू रेणु यादव र प्रदीप यादव बहुमत केन्द्रीय सदस्यहरूसहित फेरि उपेन्द्र यादवकै नेतृत्वमा फर्कनुभएको छ । पार्टी विभाजनका बेला राईलाई साथ दिएका यी प्रभावशाली नेताहरूको फिर्तीले अशोक राईको दललाई ठूलो धक्का पुगेको छ भने उपेन्द्र यादवको साख ह्वात्तै बढेको छ ।

हृदयेश त्रिपाठीसँग पनि एकताको तयारी

जसपा नेपालका अनुसार अहिले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि एकताका लागि सघन छलफल भइरहेको छ । यो एकता समेत सफल भएमा आगामी प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मोर्चा मधेशको निर्विकल्प र देशकै एक निर्णायक शक्तिको रूपमा उदाउने निश्चित देखिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा भएको यो तीव्र ध्रुवीकरणले मधेशको राजनीतिमा उपेन्द्र यादवलाई फेरि किंगमेकको भूमिकामा फर्काएको छ।


सम्बन्धित समाचार
भर्खरै