Logo

१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच औपचारिक एकीकरण भएको छ। सोमबार काठमाडौंको कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकृत भएका हुन्।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा नै कायम रहने सहमतिमा उल्लेख छ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधि स्वतः नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेछन्। साथै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिलगायत साविकका सम्पूर्ण संगठनात्मक संरचना र जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नेकपामा समायोजन गरिने उल्लेख छ।

एकीकरणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा, सामाजिक न्याय र समाजवादको दिशामा अघि बढ्न यो एकता महत्वपूर्ण रहेको बताएका छन्। उनीहरूले सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।

१० बुँदे सहमतिमा पार्टी र राज्यका निकायमा विगतमा भएका कमजोरीहरूको समीक्षा गर्दै सुधार गर्ने, संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै मुलुकको सार्वभौमिकता, स्वाधीनता र भू–अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने उल्लेख छ।

सहमतिमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेदको अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने लक्ष्यसमेत तय गरिएको छ। पार्टीलाई सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुसार सञ्चालन गरिने सहमति भएको छ।

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका महिला, थारु, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, विपन्न वर्ग र पिछडिएका क्षेत्रका समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्न पहल गर्ने सहमतिमा उल्लेख छ।

त्यस्तै संविधानका सकारात्मक पक्षको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाको सशक्तीकरणका विषयमा आवश्यक परे संविधान संशोधन र अग्रगामी परिमार्जनका लागि पहल गर्ने भनिएको छ।

सहमतिका एक महत्वपूर्ण बुँदामा टीकापुर घटनासँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख गरिएको छ।

यसअघि नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विभाजन देखिएको थियो। पार्टीका संस्थापक नेता रेशम चौधरी अलग भई कात्तिक २ गते कबिर सोबको नेतृत्वमा नाउपा नेपाल गठन गरेका थिए। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी भने नेकपासँग एकीकरण प्रक्रियामा गएको हो।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १६ वटा वामपन्थी घटकबीचको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले यस एकीकरणलाई वाम एकताको अर्को महत्वपूर्ण चरणका रूपमा लिएको छ।


सम्बन्धित समाचार