१५ पौष, वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा.लि. र पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । पुस १४ गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज-१५, पर्सामा आयोजित कार्यक्रममा उक्त सम्झौता औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
सम्झौताअनुसार पशुपति आदर्श क्लबका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत गुणस्तरीय, प्राथमिकतासहित र सहुलियतयुक्त स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अनसाइट क्लिनिक सञ्चालन तथा विशेष वेलनेस प्याकेजहरू प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसैगरी ओपीडी सेवा, आकस्मिक उपचार, जनरल बेड, आईसीयू, शल्यक्रिया, विभिन्न प्रयोगशाला परीक्षण, रेडियोलोजी सेवा, फार्मेसी तथा अन्य आवश्यक स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्झौताको अवधि एक वर्षको रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, प्रमुख सूचना अधिकृत इ. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कान्थ, मौलाना साव तथा पापु सिंहको उपस्थिति रहेको थियो। पशुपति आदर्श क्लबका तर्फबाट अध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष किरण बहादुर कटवाल र सचिव सुरेश श्रीवास्तव सहभागी थिए ।
दुवै संस्थाबीच भएको यस सहकार्यले क्लबका सदस्य तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षा थप मजबुत बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ ।














