Logo

१५ पौष, काठमाडौँ । गुरुङ समुदायले आज मंगलबार आफ्नो मौलिक नयाँ वर्षका रूपमा ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । परम्परागत संस्कार, सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीक मानिने यो पर्व देशभर गुरुङ समुदायको बसोबास रहेका स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षको आरम्भका रूपमा लिने गर्छ । विशेषगरी गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस १५ गते यो पर्व मनाउने परम्परा छ । ती क्षेत्रमा सूर्यको ताप पहिले पुग्ने विश्वासका आधारमा पुस १५ लाई ल्होसारको दिन मानिएको हो ।

परम्पराअनुसार पुस १५ को रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारलाई नयाँ चक्रको सुरुआतका रूपमा लिइन्छ। यही मान्यताका कारण गुरुङ समुदायले यस दिनदेखि शुभ कार्य, कृषि तथा सामाजिक गतिविधि प्रारम्भ गर्ने चलन रहिआएको छ ।

तमु ल्होसारका अवसरमा गुरुङ समुदायले परम्परागत पोसाक लगाएर नाचगान गर्ने, पूजा आराधना गर्ने, आफन्तबीच शुभकामना आदानप्रदान गर्ने तथा सामूहिक भोज आयोजना गर्ने गर्दछन्। यस पर्वले सांस्कृतिक पहिचान जोगाउनुका साथै नयाँ पुस्तालाई परम्परासँग जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यसैबीच तमु ल्होसारको अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका प्रमुखहरूले शुभकामना सन्देश जारी गर्दै तमु ल्होसारले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् ।

गुरुङ समुदायले मनाउने तमु ल्होसार नेपालका बहुजातीय, बहुसांस्कृतिक पर्वहरूमध्ये एक महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ ।


सम्बन्धित समाचार