१५ पौष, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम प्रायः सफा रहनेछ ।
महाशाखाले तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यसले विशेषगरी स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसमविद्हरूका अनुसार केही दिनसम्म तराई क्षेत्रमा हुस्सु र कुहिरोको अवस्था कायमै रहन सक्ने देखिएकाले यात्रामा सावधानी अपनाउन र चिसोबाट जोगिने उपाय अवलम्बन गर्न आवश्यक छ ।














