Logo

१५ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा निर्वाचन आयोगले निर्धारण गरेको छ । आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा तोकेको हो ।

निर्वाचन आयोगका अनुसार काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन् । यसमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्दछन् ।

त्यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ । आयोगले ६५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको छ भने ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

सबैभन्दा बढी खर्च सीमा २६ वटा निर्वाचन क्षेत्रमा लागू गरिएको छ, जहाँ उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दुर्गमता, यातायात पहुँच, जनसंख्या तथा भौगोलिक अवस्थालाई आधार मानेर खर्च सीमा निर्धारण गरिएको हो ।

आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारलाई अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न निर्देशन दिएको छ । सबै निर्वाचन खर्च सोही खातामार्फत गर्नुपर्नेछ। साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम, नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले तोकेको सीमा ननाघ्ने गरी खर्च गर्नुपर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन खर्च सीमाको कडाइका साथ पालना गराउन आयोगले अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।


सम्बन्धित समाचार