Logo

काठमाडौं । कीर्तिपुरका मासु व्यवसायी विनोद खड्गीको योजनाबद्ध अपहरण र हत्यामा संलग्न मुख्य तीन अभियुक्तलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सोमबार सिन्धुपाल्चोककी मनिषा महत, महोत्तरीका आशिष पासवान र बाग्लुङका प्रतीक गौतमलाई दोषी ठहर गर्दै जन्मकैदका साथै जनही दुई लाख रुपैयाँ जरिवाना र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको हो । यो प्रकरणमा मतियारको भूमिकामा देखिएका सरिन घिमिरेलाई समेत अदालतले दोषी ठहर गरेको छ भने उनको सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिएको छ ।

यो बीभत्स घटना २०८१ असोज ५ गते सुरु भएको थियो, जहाँ २१ वर्षीया मनिषा महतको समूहले ५० वर्षीय विनोद खड्गीलाई हनीट्रयापमा पारेर अपहरण गरेको थियो। नागरिकता बनाउन सहयोग गरिदिनु पर्ने बहानामा बोलाएर खड्गीलाई मदिरा सेवन गराइएको र त्यसपछि हातखुट्टा बाँधेर बन्धक बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुमा ३० लाख रुपैयाँ फिरौती माग गरेको यस समूहले अन्ततः १० लाखमा बार्गेनिङ टुङ्ग्याउन खोजे पनि खड्गीले पाँच लाख मात्र दिन सक्ने बताएका थिए । आफ्नो कर्मचारीमार्फत भक्तपुरको राधेराधेस्थित भाटभटेनी अगाडि पाँच लाख रुपैयाँ फिरौती बुझाउन लगाए पनि खड्गीको ज्यान भने जोगिन सकेन ।

पैसा हात पारिसकेपछि आफ्नो अपराधको पोल खुल्ने डरले उक्त समूहले खड्गीको क्रूरतापूर्वक हत्या गरेको थियो । अपहरणकारीले उनलाई भक्तपुरको गुण्डु पुर्‍याएर हातखुट्टा बाँधेकै अवस्थामा छाती लगायतका संवेदनशील अङ्गमा इँटाले प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शवलाई लुकाउन काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो भन्ने स्थानमा पुर्‍याएर फालिएको थियो । घटनालगत्तै फिरौती रकम आपसमा बाँडफाँड गरिएको र यसमा संलग्न अंशु खान तथा शिवम सिं राजपुत भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा यो समूह अन्तरदेशीय अपराधमा समेत संलग्न रहेको पाइएको छ । मुख्य योजनाकार भनिएकी मनिषा र उनका सहयोगीहरूले यसअघि भारतको ग्रेटर नोयडामा तुसार नामक व्यक्तिलाई कुटपिट गरी डेढ लाख भारु लुटेको तथ्य समेत उजागर भएको छ । भारतबाट नेपाल फर्किएपछि उनीहरूले धनी व्यक्तिहरूलाई निशाना बनाई ुहनीट्रयापु मार्फत रकम असुल्ने श्रृङ्खलाबद्ध धन्दा चलाउँदै आएका थिए ।

यसैबीच, अदालतले प्रमाण नपुगेको भन्दै रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेललाई भने सफाइ दिएको छ ।


सम्बन्धित समाचार