Logo

१५ पुष, वीरगञ्ज । बिरगंजमा केही दिनयता बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनिरहेका बेला सडकमा आश्रित ‘सामुदायिक कुकुर’ हरूको संरक्षणका लागि बिरगंज कपडा बैंकले प्रशंसनीय कार्य गरेको छ। बैंकले सुमार्ग बिन्दु आमा प्रतिष्ठानको सहकार्यमा आज बिरगंजको जेलचौकस्थित ‘खोर’ मा रहेका कुकुरहरूका लागि ओछ्यानको व्यवस्था गरेको हो।

चिसो भुइँका कारण कुकुरहरू बिरामी पर्ने र मर्ने जोखिम बढेपछि कपडा बैंकले मानवीय संवेदनशीलता दर्साउँदै यो अभियान थालेको हो। बैंकमा संकलन भएका तर लगाउन नमिल्ने (रद्दी) पुराना कपडाहरूलाई पुनः प्रयोग (Recycle) गरी २×२ फिटका ८ थान चकटी (सानो बिस्तरा) तयार पारिएको थियो। ती चकटीसँगै पराल बिछ्याएर कुकुरहरूका लागि न्यानो बासस्थान निर्माण गरिएको छ।

उक्त सेवामूलक कार्यक्रममा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सुमार्ग बिन्दु आमा फाउन्डेसनका सल्लाहकार एवं समाजसेवी मार्टिन मोक्तान, युवा समाजसेवीहरू नवराज भट्टराई र अभिलाष गुप्ता, तथा राजु चिया पसलका सञ्चालक राजु साह तुराहा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै बिरगंज कपडा बैंकका प्रतिनिधिहरूले मानव सेवा मात्र नभई पशु–पक्षीप्रति पनि उत्तिकै दयाभाव राख्नु पर्ने बताए। बैंकले आगामी दिनमा पनि चिसोबाट प्रभावित अन्य क्षेत्रका बेसहारा जनावरहरूका लागि यस्ता सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

“समाजमा मानवीयताको पहिचान केवल मानिसका लागि मात्र सीमित हुनुहुँदैन, बोल्न नसक्ने प्राणीहरूप्रति पनि हाम्रो उत्तरदायित्व हुन्छ भन्ने सन्देश दिन हामीले यो सानो प्रयास गरेका हौं,” बैंकका एक सदस्यले बताए।


सम्बन्धित समाचार