१६ पौष, काठमाडौँ । नयाँ राजनीतिक शक्तिहरूबीच भएको एकताले मुलुकका परम्परागत ठूला दलहरूलाई स्पष्ट रूपमा झस्काएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन वैकल्पिक राजनीतिक धारका चर्चित अनुहारहरू रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ एउटै राजनीतिक धारमा उभिएको दृश्यले विघटित संसदका ठूला दलका शीर्ष नेताहरूमा असहजता देखिएको हो ।
सार्वजनिक रूपमा वैकल्पिक शक्तिहरूको एकतालाई बेवास्ता गर्ने जस्तो देखिए पनि भित्रभित्रै आगामी चुनावमा सिट बाँडफाँटसम्मको चर्चा सुरु हुनुले पुराना दलहरूमा बढ्दो चिन्तालाई उजागर गरेको छ । निर्वाचन नै नहुने र प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने अडान लिँदै आएको नेकपा एमाले समेत पछिल्लो समय निर्वाचनप्रति लचिलो देखिन थालेको छ । तर नयाँ शक्तिहरू एकजुट भएपछि एमालेभित्र नयाँ खालको राजनीतिक दबाब सिर्जना भएको विश्लेषण गरिएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापाले नेपाली कांग्रेससँग बराबरी सिट बाँडफाँट गरेर चुनावमा जान सकिने अभिव्यक्ति दिनुले पनि त्यस दबाबलाई पुष्टि गरेको छ । यस्तै, नेपाली कांग्रेसभित्र पनि रवि, बालेन, कुलमानको एकीकरणलाई लिएर असहजता बढेको संकेत देखिएको छ। कांग्रेस नेता मिनबहादुर विश्वकर्माले नयाँ शक्तिहरूको एकताप्रति आक्रामक टिप्पणी गर्नुले त्यसको झल्को दिन्छ ।
उता, जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिसँग सहकार्य गर्ने संकेत दिँदै आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत पछिल्लो राजनीतिक घटनाक्रमबाट सशंकित देखिएका छन् । बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको सन्दर्भमा दाहालले सामाजिक सञ्जालमार्फत “देश इतिहास र निष्ठाविहीनहरूले कब्जा गरिसकेको भ्रम फैलाइएको” टिप्पणी गरेका छन् ।
त्यसैदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रवि, बालेन र कुलमानको एकतालाई ‘कुखुरा, बाख्रा र स्यालको गठजोड’ भन्दै व्यंग्य गरेका थिए। पुराना र ठूला भनिएका दलका शीर्ष नेताहरूबाट आएका यस्ता प्रतिक्रिया नयाँ राजनीतिक शक्तिहरूको एकताप्रति उनीहरू खुशी नभएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ ।
यद्यपि, समानुपातिकतर्फको उम्मेदवार सूची समेत बुझाइसकेकाले अब ठूला दलहरूका लागि चुनावबाट पन्छिने विकल्प बाँकी छैन। त्यसैले जति नै संशय र आशंका भए पनि पुराना दलहरू चुनावी मैदानमा उत्रन बाध्य हुने र नयाँ शक्तिहरूसँग कडा प्रतिस्पर्धा हुने संकेत देखिन थालेको छ ।















