१६ पौष, काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले एकता तथा मेलमिलापको नीति अंगाल्दै भारतबाट स्वदेश फर्किएको सम्झनामा आज (बुधबार) देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ। दिवसका अवसरमा नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. २०३३ पुस १६ गते बीपी कोइरालाको नेतृत्वमा कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेताहरूले करिब आठ वर्षको निर्वासित जीवन त्याग गर्दै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए। उनीहरू भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट अनुभव गरिरहेका थिए, जसले नेपालमा पनि राष्ट्रियता कमजोर हुन सक्ने आशंका बढाएको बताइन्छ।
तत्कालीन राजा महेन्द्रद्वारा २०१७ पुस १ गते गरिएको शाही ‘कु’ पछि प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा नजरबन्दमा राखिएको थियो। त्यसपछि फागुन २६ गते उनलाई सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनल हाकिमको निवास क्षेत्रमा बनाइएको बन्दीगृहमा स्थानान्तरण गरिएको थियो। आठ वर्षपछि, २०२५ सालमा उपचारका लागि रिहा भई भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए।
भारतमा रहँदा पाकिस्तानको विभाजन, सिक्किमको विलय तथा एसियाका विभिन्न देशमा देखिएको विखण्डनको प्रक्रियालाई नजिकबाट देखेपछि बीपी कोइरालाले नेपालमा यस्ता अवस्था नआओस् भन्ने उद्देश्यसहित राष्ट्रिय मेलमिलाप र एकताको नीति अघि सारेका थिए। उनीमाथि आठ वटा मृत्युदण्डसम्बन्धी मुद्दा अदालतमा चलिरहेका बेला पनि जोखिम मोलेर स्वदेश फर्किएको इतिहास कांग्रेसले स्मरण गर्दै आएको छ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः सुन्दरीजल बन्दीगृह लगिएको थियो। वि.सं. २०३४ जेठ २७ गते उपचारपछि फर्कने सर्तमा बीपी कोइरालालाई रिहा गरियो। त्यसपछि उनी फेरि सुन्दरीजल हुँदै प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइए।
चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सो बन्दीगृहलाई वि.सं. २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसले आज पनि नेपाली राजनीतिमा संवाद, सहकार्य र राष्ट्रिय एकताको महत्व स्मरण गराउँदै आएको छ।















