१६ पौष, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । मंगलबार पेस गरिएको बन्दसूचीमा कांग्रेसले देशका ७७ मध्ये ६४ जिल्लाबाट मात्रै उम्मेदवार समेटेको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनबाट कुनै पनि उम्मेदवार बन्दसूचीमा परेका छैनन् । यस्तै कोशी प्रदेशका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकी प्रदेशका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनी प्रदेशका पूर्वी रूकुम र प्युठान तथा कर्णाली प्रदेशको जुम्लाबाट पनि कांग्रेसले समानुपातिक उम्मेदवार समेट्न सकेको छैन ।
तर मधेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट भने बन्दसूचीमा प्रतिनिधित्व गराइएको छ। मधेश प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी छ जना उम्मेदवार समेटिएका छन् भने बारा र सप्तरीबाट तीन/तीन जना, महोत्तरी र रौतहटबाट दुई/दुई जना तथा सर्लाही, सिरहा र पर्साबाट एक/एक जना बन्दसूचीमा परेका छन् । यसै क्रममा धनुषाबाट सिफारिसमा परेका डा. चन्द्रमोहन यादवको नाम दोहोरिएको देखिएको छ। उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाट दुई/दुई जना उम्मेदवार समेटिँदा बाँकी सात जिल्लाबाट एक/एक जनाको प्रतिनिधित्व गराइएको छ । कैलालीबाट यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी तथा कञ्चनपुरबाट तौला राना र कल्पना केसी बन्दसूचीमा परेका छन् । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, प्रदेश सभापति वीरबहादुर बलाययरको गृहजिल्ला डोटीबाट प्रसिस महरा र सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम पनि बन्दसूचीमा समावेश छ ।
कांग्रेसको बन्दसूचीमा केही जिल्लाको प्रतिनिधित्व छुट्नुले समानुपातिक प्रणालीमार्फत भौगोलिक सन्तुलन र समावेशितामाथि प्रश्न उठेको भन्दै पार्टीभित्रैसमेत आलोचना सुरु भएको छ । पार्टी नेतृत्वले भने समावेशिता, समूहगत प्रतिनिधित्व र आन्तरिक सन्तुलनका आधारमा बन्दसूची तयार गरिएको दाबी गर्दै आएको छ ।















