Logo

१६ पौष, रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि पुनः सञ्चालनमा आएको छ । ग्यास बुलेट पल्टिएपछि पूर्ण रूपमा अवरुद्ध बनेको उक्त सडक बुधबार बिहानदेखि दुईतर्फी रूपमा खुलाइएको हो ।

मंगलबार बिहान करिब ७:५० बजे ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो । मुख्य राजमार्ग बन्द हुँदा लामो दूरीका सवारी साधनहरू वैकल्पिक रूपमा साँघुरा र घुमाउरा ग्रामीण सडक प्रयोग गर्न बाध्य भएका थिए, जसका कारण यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको थियो ।

जिल्ला ट्राफिक कार्यालय रौतहटका अनुसार दुईवटा क्रेनको सहायताले दुर्घटनाग्रस्त ग्यास बुलेटलाई सडकको किनारमा सारिएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो । जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले राजमार्ग अहिले पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

दुर्घटनापछि ग्यास चुहावट देखिएकाले सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकल परिचालन गरिएको थियो । सुरक्षाका लागि लगातार पानी छर्किँदै बुलेट उठाउने कार्य गरिएको थियो । त्यसपछि सडकमा फैलिएको ग्यासको असर हटाउन कालोपत्रे सडकलाई पानीको फोहोरा प्रयोग गरी सफा गरिएको जनाइएको छ ।

हाल दुर्घटनाग्रस्त ग्यास बुलेट सडकको किनारमा सुरक्षित रूपमा राखिएको छ भने राजमार्ग खुलेपछि लामो समयदेखि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार