१६ पुष, काठमाडौं । सिन्धुलीको दुधौलीस्थित मदन–भण्डारी राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ ।
काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड गरिएको पिकअप गाडीले पैदल हिँडिरहेका ६० वर्षीय मोहन धामीलाई ठक्कर दिएको हो । दुधौली नगरपालिका–४ कमलाखोच खण्डमा भएको उक्त ठक्करबाट धामीको टाउको र शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनालगत्तै घाइते धामीलाई तत्काल उपचारका लागि स्थानीय कमलाखोच अस्पताल पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नगर अस्पताल सिर्थौली पठाइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मृतक दुधौली–१ गिजियानीका स्थायी बासिन्दा हुन् ।
प्रहरीले घटनामा संलग्न पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । झापाको शिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय चालक अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।















