Logo

१६ पुष, काठमाडौं । विभाजित राष्ट्रवादी शक्तिहरूलाई पुनर्गठित गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक रूपमा एकता हुँदैछ ।

राजेन्द्र लिङ्देनसँगको महाधिवेशनमा पराजित भएपछि असन्तुष्ट बनेर पार्टी छाडेका थापा झन्डै चार वर्षको अन्तरालपछि पुनः पुरानै घर फर्कन लागेका हुन् । यी दुई पार्टीबीचको ऐतिहासिक एकता घोषणा समारोह आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको छ, जसले मुलुकको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।

एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अध्यक्षद्वय लिङ्देन र थापाले केही दिनअघि दुई बुँदे सहमति गरेका थिए भने राप्रपा नेपालको मंगलबार बसेको बैठकले उक्त एकीकरणलाई अनुमोदन समेत गरिसकेको छ । एकताको आधार तय गर्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पेश गरिने समानुपातिकको बन्द सूचीमा समेत दुवै पक्षले लचिलोपन देखाएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार हाललाई निर्वाचनको माहोल र पार्टी महाधिवेशन छ महिना पर सरेकाले सम्मानजनक हैसियतमा पार्टी निर्माणलाई तीव्रता दिने दुवै पक्षको साझा संकल्प रहेको छ ।

एकता पश्चात् राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरूलाई राप्रपाभित्र सम्मानजनक जिम्मेवारी र भूमिका दिइने अध्यक्ष लिङ्देनले प्रतिबद्धता जनाएका छन् । यसअघि फरक धार र संगठनमा सक्रिय रहेका दुई समूह अब एउटै झण्डामुनि गोलवद्ध भएर अघि बढ्ने भएपछि राष्ट्रवादी कित्तामा उत्साह देखिएको छ । आजको घोषणा सभाबाट पार्टीको आगामी कार्यदिशा, झण्डा र चुनाव चिन्हका बारेमा समेत थप प्रष्ट पारिने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै