Logo

१६ पुष, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरेका हजारौँ युवाहरू सडकमा उत्रिएका छन् ।

ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि भेला भएका पीडित युवाहरूले वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराउँदै चर्को नाराबाजीसहित प्रदर्शन गरेका हुन् । परीक्षा पास गरेर सबै प्रक्रिया पूरा गर्दा पनि लामो समयसम्म कोरिया जान नपाएपछि उनीहरु आक्रोशित भएका हुन् । आक्रोशित बनेका युवाहरुले आफ्नो माग सम्बोधनका लागि नौ बुँदे मागपत्र अघि सारेका छन् ।

आन्दोलनमा उत्रिएका युवाहरूका अनुसार हाल करिब १० हजारको संख्यामा रहेका ईपीएस उत्तीर्ण उम्मेदवारहरू श्रम सम्झौता र उडानको पर्खाइमा अलपत्र परेका छन् । विशेष गरी कृषि क्षेत्रमा उत्तीर्ण भएकाहरूले बढी सास्ती खेप्नुपरेको भन्दै उनीहरूले प्राथमिकताका आधारमा छिटोभन्दा छिटो प्रस्थानको मिति तय गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूले कुनै ठोस कारणबिना अन्यायपूर्ण रूपमा सूचीबाट हटाइएका कामदारहरूलाई तत्काल पुनः समावेश गर्नुपर्ने र कोरिया जाने प्रक्रियालाई पारदर्शी एवं द्रुत बनाउनुपर्ने अडान राखेका छन् ।

हातामा प्लेकार्ड बोकेर प्रदर्शनमा होमिएका युवाहरूले श्रम गन्तव्य छनोट भइसक्दा पनि राज्यले पहल नगरेको भन्दै दुख व्यक्त गरेका छन् । कोरिया जान पाउने छाँटकाँट नदेखिएपछि उनीहरूको उमेर र आर्थिक अवस्था दुवै संकटमा परेको भन्दै ईपीएस पीडित सङ्घर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । विभाग अगाडिको सडकमा भएको यो प्रदर्शनका कारण केही समय सवारी आवागमन समेत प्रभावित भएको थियो ।


सम्बन्धित समाचार