Logo

१६ पुष, काठमाडौं । मधेश प्रदेश सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले ६ जना नयाँ मन्त्रीहरू नियुक्त गरेसँगै मधेश सरकार अब मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ । राजनीतिक खिचातानी र शक्ति सन्तुलनका कारण केही समयदेखि रिक्त रहेका महत्वपूर्ण मन्त्रालयहरूले नयाँ नेतृत्व पाएसँगै प्रदेश सरकारले आफ्नो पूर्ण आकार ग्रहण गरेको हो ।

नवनियुक्त मन्त्रीहरूका लागि जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा बुधबार विशेष शपथ ग्रहण समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। यसरी शपथ लिनेहरूमा मनिष सुमनले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा नियुक्त गरिएको छ । त्यस्तै, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाएका छन् ।

मन्त्रिपरिषद्को यो पूर्णतासँगै प्रदेशमा विकास निर्माण र प्रशासनिक कामले थप गति लिने अपेक्षा गरिएको छ । सत्ता साझेदार दलहरूबीचको लामो छलफल र भागबन्डापछि मन्त्रालयहरूको कार्यविभाजन टुङ्ग्याइएको हो । नवनियुक्त मन्त्रीहरूले आजै आ(आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
नयाँ टोलीको आगमनसँगै मधेश प्रदेश सरकारले जनअपेक्षा अनुसारका कामहरूलाई तीव्रता दिने विश्वास आम नागरिकले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार