१६ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी कुनै पनि हालतमा विधि र पद्धतिभन्दा बाहिर नजाने स्पष्ट पार्नुभएको छ ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले रास्वपा परिवारवाद र नीतिगत स्पष्टतामा दृढ रहेको दाबी गर्नुभयो । समानुपातिक उम्मेदवारहरूको बन्दसूचीलाई लिएर भइरहेको चर्को आलोचनाको जवाफ दिँदै उहाँले पार्टीको विधानले नै परिवारवादलाई निषेध गरेको र यदि कसैले विधि मिच्न खोजेमा ‘राइट टु रिकल’ को व्यवस्था समेत सुरक्षित रहेको बताउनुभयो ।
पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरूबीच छोटो समयमा कार्यगत एकता गर्ने निर्णय भएकाले तयारीमा केही कमी भएको लामिछानेले स्वीकार गर्नुभयो । विशेषगरी नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका व्यक्तित्वहरूसँग अन्तिम समयमा सहमति भएकाले सूची व्यवस्थापनमा चाप परेको उहाँको भनाइ छ । निर्वाचन आयोगमा बुझाइएको सूचीमा देखिएका त्रुटी वा विवादित नामहरूका बारेमा जनस्तरबाट आएका जायज गुनासोहरूलाई दुई दिनभित्र सम्बोधन गरिने र पार्टीले कसैलाई पनि अनावश्यक रूपमा बोकेर नहिँड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धनाढ्य र पहुँचवालाहरूलाई मात्र प्राथमिकता दिएको भन्ने प्रश्नको प्रतिवाद गर्दै लामिछानेले देशको दूषित राजनीतिक अवस्थाका कारण समाजका हरेक तह र तप्काका सचेत नागरिकहरू राजनीतिमा सक्रिय हुन खोजेको बताउनुभयो । समाजका प्रतिष्ठित र सफल व्यक्तिहरू राजनीतिमा जुर्मुराउनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले रास्वपाले सबै पेशा र व्यवसायका योग्य व्यक्तिहरूलाई समेट्न खोजेको दाबी गर्नुभयो ।
निर्वाचनको मुखमा देखिएका यी विवादहरूलाई समीक्षा (रिभ्यू) मार्फत समाधान गरी पार्टीलाई स्वच्छ छविका साथ अघि बढाउने लामिछानेको सङ्कल्प रहेको छ ।















