Logo

१६ पुष, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले देशमा निर्वाचनको माहोल उत्साहजनक रूपमा अगाडि बढे पनि लगानीका लागि आवश्यक सुरक्षित वातावरण भने अझै बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

बुधबार महासङ्घद्वारा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य रहेको र यसप्रति सरकार तथा राजनीतिक दलहरूको तत्परता प्रशंसनीय रहेको बताउनुभयो । निर्वाचनले राजनीतिक स्थिरताको सङ्केत गरे पनि आर्थिक समृद्धिको मेरुदण्ड मानिने निजी क्षेत्रको संरक्षण र प्रोत्साहनको पाटो भने अझै ओझेलमा परेको उहाँको ठम्याइ छ ।

अध्यक्ष ढकालले निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने सुनिश्चितता नभएसम्म मुलुकले समृद्धिको बाटो पक्रिन नसक्ने तर्क गर्नुभएको छ। उहाँका अनुसार व्यवसायीहरू ढुक्क भएर लगानी गर्ने स्थितिमा अझै पुग्न सकेका छैनन्, जसका कारण नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन सकेका छैनन्। सम्पत्तिको सुरक्षा र लगानीबीच प्रत्यक्ष सम्बन्ध रहने उल्लेख गर्दै उहाँले जबसम्म उद्यमीहरूले आफ्नो लगानी र सम्पत्ति सुरक्षित महसुस गर्दैनन्, तबसम्म आर्थिक गतिविधिले अपेक्षित गति लिन नसक्ने स्पष्ट पार्नुभयो ।

मुलुकमा बढ्दो दण्डहीनता र कानुनी शासनको कमजोरीप्रति सङ्केत गर्दै ढकालले गलत काम गर्नेहरूमाथि कडा कारबाही हुन नसक्दा व्यावसायिक जगतमा आशङ्का उब्जिएको बताउनुभयो । दण्डहीनता मौलाउँदै जाँदा इमानदार व्यवसायीहरू निरुत्साहित हुने जोखिम रहेको उहाँको भनाइ छ । लगानीमैत्री वातावरण निर्माणका लागि केवल राजनीतिक भाषण मात्र नभई व्यावहारिक रूपमै निजी क्षेत्रको संरक्षणको ग्यारेन्टी हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ।


सम्बन्धित समाचार
भर्खरै