१६ पुष, वीरगञ्ज । अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामललाको प्राण–प्रतिष्ठा महोत्सवको तेस्रो वार्षिकोत्सव तथा प्रतिष्ठा द्वादशीको पावन अवसरमा वीरगञ्जस्थित प्रसिद्ध श्री गहवामाई (माईस्थान) मन्दिर प्राङ्गणमा भव्य राम महोत्सव तथा सनातन समागम संस्कृति महोत्सव सम्पन्न भएको छ।
हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त महोत्सव परिषद्का राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफ र सचिव आमोद कुमार केवटको नेतृत्वमा श्रद्धा, भक्ति र सामाजिक समरसताका साथ सम्पन्न भएको हो। कार्यक्रममा वैदिक मन्त्रोच्चारण, श्री हनुमान आराधना तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो।
महोत्सवमा आचार्य पण्डित रत्नेश तिवारी, पण्डित दिनेश तिवारी, पण्डित प्रेम मिश्र, पण्डित प्रमोद तिवारी, पण्डित रजनीकान्त दुबे लगायतका विद्वान आचार्यहरूको गरिमामय उपस्थिति रहेको थियो। सुप्रसिद्ध भजन गायक जितेन्द्र मुस्कानले प्रस्तुत गरेका भक्तिगीतहरूले श्रद्धालुहरूलाई भावविभोर बनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले भगवान् श्रीराम मर्यादा, न्याय र सामाजिक समरसताका शाश्वत प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता धार्मिक–सांस्कृतिक आयोजनाले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्य प्रवर्द्धन गर्नुका साथै युवापुस्तालाई आफ्ना संस्कार र परम्परासँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
महोत्सवमा महिला, युवा, विद्यार्थी, सुरक्षा निकायका सदस्य तथा नगरका विभिन्न सामाजिक वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल भोजपुरी समाजका अध्यक्ष तथा हिन्दू परिषद नेपालका वरिष्ठ सल्लाहकार ध्रुवदेव सिंह ठाकुरी र नेपाल सामाजिक संस्थाका अध्यक्ष भूपेन्द्र पौडेलको उपस्थिति रहेको थियो।
कार्यक्रमको अर्को चरणअन्तर्गत आज साँझ सोही मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्वलन गरिने आयोजकले जानकारी दिएका छन्, जसले अयोध्यामा सम्पन्न श्रीरामललाको प्राण–प्रतिष्ठा महोत्सवको स्मृतिलाई अझ दिव्य बनाउने अपेक्षा गरिएको छ।















