Logo

१६ पुष, वीरगञ्ज । श्रीराम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा आज माइस्थान मन्दिर परिसरमा वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख बिक्रम सुबेदीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजार, सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरू तथा सनातनी श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानअन्तर्गत मन्दिर परिसर तथा आसपासका सार्वजनिक स्थानहरू सरसफाइ गरिएको थियो। साथै, फोहोर व्यवस्थापन र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देशसमेत प्रवाह गरिएको थियो।

कार्यक्रमको अगुवाइ सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजारका उपाध्यक्ष प्रवेश सर्राफले गरेका थिए। सरसफाइ अभियानमा वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी बल, वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरू, स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार अमर सर्राफ, रमिता माया गुप्ता तथा माइस्थान क्षेत्रका युवाहरूको विशेष सहभागिता रहेको थियो।

कार्यक्रम समापनका क्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजारले यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। धार्मिक स्थलको स्वच्छता, सौन्दर्य र संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै