Logo

१७ पौष, काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरूले विगत १३ वर्षदेखि यो दिवस मनाउँदै आएका छन् ।

नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीलाई विशेषगरी युवामाझ प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०७० सालदेखि राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउन थालिएको हो । आयोजकका अनुसार राष्ट्रिय पोसाकको महत्व उजागर गर्दै यसको प्रयोगलाई दैनिक जीवनसँग जोड्ने अभियानकै रूपमा यो दिवस निरन्तर आयोजना हुँदै आएको छ ।

दिवसका अवसरमा आज धेरैले राष्ट्रिय पोसाक लगाएका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नेपाली मौलिक पहिचानप्रति ऐक्यबद्धता जनाएका छन् । सन् २०१३ (जनवरी १) देखि प्रत्येक वर्ष जनवरी १ तारिखका दिन यो दिवस मनाइँदै आएको छ, जसले राष्ट्रिय पोसाकप्रतिको चासो र प्रयोगमा पुनर्जागरण ल्याएको आयोजकहरूको भनाइ छ ।

विगतमा राष्ट्रिय पोसाक औपचारिक प्रयोगबाट हटाइएपछि त्यसको संरक्षण र प्रवर्द्धन आवश्यक ठानी युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका थिए । हाल यो अभियान देशव्यापी रूपमा फैलँदै गएको छ ।

१३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवसका अवसरमा राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा र्‍याली, सांस्कृतिक कार्यक्रम, फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूले राष्ट्रिय पोसाक केवल परम्पराको प्रतीक मात्र नभई नेपाली पहिचान र गौरवको अभिव्यक्ति भएको भन्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको सहभागिता आवश्यक रहेको बताएका छन् ।


सम्बन्धित समाचार