Logo

१७ पुष, काठमाडौं । जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने अन्तिम तयारी गरेको छ ।

आयोगले लेखकसँग दुई चरणमा लिएको लामो बयान प्रक्रिया सम्पन्न भएसँगै उनीमाथिको प्रतिबन्ध हटाउने गृहकार्य अघि बढाएको हो । यसै सिलसिलामा आयोगले बुधबार साँझ साढे ७ बजेसम्म लेखकसँग सिंहदरबारमा सोधपुछ गरेको थियो भने त्यसअघि पुस १४ गते पनि उनीसँग बयान लिइएको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले निवर्तमान गृहमन्त्रीको बयान सकिएको पुष्टि गर्दै अब अन्य कानुनी प्रक्रिया अघि बढ्ने संकेत गर्नुभएको छ ।

आयोग स्रोतका अनुसार बयानका क्रममा लेखकले दिएका स्पष्टीकरण र उपलब्ध प्रमाणहरूको अध्ययनपछि उनलाई लगाइएको स्थान हद खोल्ने निष्कर्षमा आयोग पुगेको हो । यसअघि यही प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी र तत्कालीन गृहसचिव लगायतका उच्च पदस्थ अधिकारीहरूको पनि स्थान हद फुकुवा गरिसकिएको छ । अनुसन्धानका लागि रोक्का गरिएका सुविधाहरू वा हिँडडुलको सीमा फुकुवा गर्ने तयारीले जेनजी आन्दोलन छानबिनको प्रक्रिया अब प्रतिवेदन लेखनको अन्तिम चरणतिर पुगेको अनुमान गरिएको छ ।

घटनाको गम्भीरता र संलग्नताको आधारमा आयोगले आफ्ना कामकारबाहीलाई तीव्र बनाएको छ । निवर्तमान गृहमन्त्री लेखकको बयान सकिएसँगै अब आयोगले प्राप्त तथ्यहरूलाई समेटेर सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिरहेको बुझिएको छ । उच्च पदस्थहरूको बयान र स्थान हद फुकुवाको शृङ्खलाले अनुसन्धानमा देखिएका केही जटिल गाँठोहरू फुकेको संकेत गरेको छ, जसले गर्दा आगामी दिनमा जेनजी आन्दोलनसँग जोडिएका दोषी र निर्दोषको स्पष्ट चित्र बाहिर आउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै