१८ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न सेवा प्रदायक फर्म तथा कम्पनीलाई सूचीकृत हुन निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने अत्यावश्यक सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर तथा कुरियर सेवाको प्रयोग गरिनेछ । सो प्रयोजनका लागि ढुवानी सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीले आयोगमा सूचीकृत हुन आवेदन दिनुपर्नेछ ।
सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीले सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट प्राप्त गरेको इजाजतपत्र, मूल्य अभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा पछिल्लो तीन आर्थिक वर्षको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार हेलिकप्टर भाडामा उपलब्ध गराउन चाहने फर्म वा कम्पनीको पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम तीन करोड रुपैयाँ हुनुपर्नेछ । त्यसैगरी ट्रक तथा कन्टेनर सेवा प्रदान गर्नेले कम्तीमा एक करोड रुपैयाँ र कुरियर सेवा सञ्चालन गर्नेले ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो केन्द्रीय कार्यालयसहित ७७ वटै जिल्लामा रहेका कार्यालय वा प्रतिनिधिको विवरण टेलिफोन तथा मोबाइल नम्बर सहित निवेदनका साथ पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
एकभन्दा बढी समूहमा सूचीकृत हुने उद्देश्यले निवेदन पेस गरेमा त्यस्तो निवेदनमाथि कारबाही नहुने आयोगको स्पष्टिकरण छ । सेवा प्रदायक फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगमै निहित रहने पनि आयोगले जनाएको छ ।
निर्वाचनलाई निष्पक्ष, सुरक्षित र समयमै सम्पन्न गर्न आवश्यक सामग्रीको ढुवानी व्यवस्थित बनाउने उद्देश्यले सेवा प्रदायक सूचीकृत गर्न लागिएको आयोगको भनाइ छ ।














