१८ पुष, काठमाडौं । काठमाडौँको बौद्धस्थित प्राइड इन्टरटेनमेन्ट प्रालि (क्यासिनो प्राइड) मा भएको १४ करोड रुपैयाँ लुटपाट प्रकरणमा संलग्न व्यक्तिहरू विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ ।
गत भदौ २४ गते जेनजी प्रदर्शनको मौका छोपी घरेलु हतियारसहित क्यासिनो छिरेर लुटपाट मच्चाएको आरोपमा पक्राउ परेका दावा शेर्पा ‘सेठ्ठी’ सहितको समूहमाथि प्रहरीले सम्पत्तिको स्रोत खोजी गर्न थालेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा हाल दावा शेर्पा सेठ्ठी रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा रहेका छन् । गुण्डागर्दीको पृष्ठभूमि भएका दावा सेठ्ठीले सोही क्यासिनोमा टेबल किनेर जुवा खेलाउने गरेको र प्रदर्शनको दिन आफ्नै नेतृत्वमा लुटपाट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
काठमाडौँका एसएसपी रमेश थापाले अभियुक्तहरू विरुद्ध लुटपाटको मुद्दाका साथै सम्पत्ति शुद्धीकरण ऐनअनुसार पनि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । प्रहरीले पहिलो चरणमा लुटपाटको मुद्दा अदालत लैजाने र दोस्रो चरणमा सम्पत्ति सम्बन्धी पूरक अभियोग लैजाने तयारी गरेको छ ।
अनुसन्धानका क्रममा खुकुरीसहित क्यासिनो छिरेको यो समूहसँग कुख्यात काभ्रेली समूहुको पनि संलग्नता देखिएको छ । लुटपाटमा संलग्न भनिएका काभ्रेली समूहका नाइके कुलध्वज लामा ‘कुले, नमोबुद्ध नगरपालिकाका वडा सदस्य समेत रहेका सञ्जय तामाङ र राकेश तामाङ भने हालसम्म फरार रहेका छन् । विगतमा पनि पटक–पटक विभिन्न क्लब र लाउन्जमा आक्रमण तथा कुटपिटका घटनामा संलग्न यो समूहले यसपटक ठूलो परिमाणमा नगद लुटेको भिडियो फुटेजमा समेत स्पष्ट देखिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको पछिल्लो संशोधनले प्रहरीलाई सम्बद्ध कसुरसँग जोडिएका सम्पत्तिमाथि अनुसन्धान गर्ने अधिकार दिएपछि प्रहरीले यो मुद्दामा सक्रियता देखाएको हो । क्यासिनो सञ्चालकले दिएको जाहेरीका आधारमा सुरु भएको यो अनुसन्धानले गुन्डागर्दी र राजनीतिक संरक्षणको आडमा आर्जित अवैध सम्पत्तिको जालो उधिन्ने अपेक्षा गरिएको छ । फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।















