१८ पुष, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ कटौती गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज (इन्धन शुल्क) घटाएको छ ।
प्राधिकरणले हवाई इन्धनको मूल्य घटेकै अनुपातमा नयाँ भाडादर कायम गरेपछि शुक्रबारदेखि नै विभिन्न आन्तरिक गन्तव्यको यात्रा सस्तो भएको छ । फ्युल सर्चार्ज घटेपछि लामो दुरीका उडानमा यात्रुले उल्लेख्य बचत गर्न सक्ने भएका छन् । समायोजन गरिएको नयाँ दर अनुसार काठमाडौँबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीका लागि फ्युल सर्चार्ज २ सय ६५ रुपैयाँले घटेको छ ।
यसअघि धनगढीका लागि ५ हजार ९ सय २० रुपैयाँ रहेको इन्धन शुल्क अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ । त्यस्तै, पर्यटकीय दृष्टिकोणले महत्त्व राख्ने माउन्टेन फ्लाइटमा २ सय १० रुपैयाँ र काठमाडौँ–भद्रपुर रुटमा १ सय ८० रुपैयाँ भाडा कम लाग्ने भएको छ । सबैभन्दा कम दूरीको काठमाडौँ–सिमरा उडानमा ५५ रुपैयाँ र काठमाडौँ–पोखरा उडानमा ९५ रुपैयाँ शुल्क घटाइएको छ ।
प्राधिकरणका अनुसार क्षेत्रीय उडानतर्फ पनि भाडामा ठूलो गिरावट आएको छ, जहाँ जनकपुर–धनगढी रुटमा ३ सय ३० रुपैयाँ र जनकपुर–नेपालगञ्ज रुटमा २ सय ७० रुपैयाँ कम शुल्क तोकिएको छ । हवाई भाडामा फ्युल सर्चार्ज एउटा शीर्षक मात्र भएकाले यसमा विमानस्थल कर र वायुसेवा कम्पनीको आधारभूत भाडा थपिएपछि मात्रै यात्रुले तिर्ने पूर्ण भाडादर कायम हुनेछ ।
पछिल्लो समय महँगी बढिरहेका बेला हवाई भाडामा आएको यो सामान्य गिरावटले पनि आन्तरिक पर्यटन र नियमित यात्रुलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ ।















