१८ पुष, काठमाडौं । ललितपुरको बिशंखुनारायणस्थित एक रिसोर्टमा ‘महामाया मन्त्र इभेन्ट’ का नाममा सञ्चालित उच्च जोखिमयुक्त ‘अन्डरग्राउण्ड’ साङ्गीतिक पार्टीमा लागुऔषध नियन्त्रण ब्युरोले छापा मारेको छ ।
दक्षिण भारतीय आयोजक र केही नेपालीको मिलेमतोमा ७२ घण्टासम्म निरन्तर सञ्चालन गर्ने गरी तय गरिएको उक्त पार्टीमा प्रतिबन्धित लागुऔषधको कारोबार र प्रयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही चलाएको हो । पुस १६ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मार्दा ९ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ५ जना भारतीय, १ जना ग्रिसका नागरिक र ३ जना नेपाली रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार पक्राउ परेका विदेशीहरूमा भारत केरलाका केभिन जोसेफ, सादिक, आश्विन अन्टु, वैष्णव के साजु र हैदरावादका अभिराज कुथाडी रहेका छन् भने ग्रिसका नागरिक डिमिट्रिओस काट्टोस पनि प्रहरी फन्दामा परेका छन् । त्यस्तै, नेपाली नागरिकहरू पुष्पराज परियार, मनसुन न्यौपाने र आदित्य अर्याललाई पनि लागुऔषधसहित नियन्त्रणमा लिइएको छ ।
प्रहरीले खानतलासीका क्रममा उनीहरूको साथबाट एलएसडी, एमडीएमए, म्याजिक मसरुम जस्ता कडा र महँगा लागुऔषधका साथै ठुलो परिमाणमा गाँजा र चरेस समेत बरामद गरेको छ । ब्युरोका अनुसार बरामद सामग्रीमा एलएसडी ६ पिस, एमडीएमए १ पिस, ४ ग्राम म्याजिक मसरुम, ६१ ग्राम चरेस र २२ ग्रामभन्दा बढी गाँजा रहेको छ ।
पक्राउ परेका सबैमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। यो घटनाले उपत्यकाका एकान्त रिसोर्टहरूमा लुकिछिपी हुने यस्ता ‘रेभ पार्टी’ र लागुऔषधको बढ्दो जोखिमलाई पुनः उजागर गरेको छ ।















