१८ पुष, काठमाडौं । नेपाली राजनीतिको एउटा यस्तो पाटो, जहाँ अपराध र राजनीतिबीचको रेखा प्रायः धुमिल हुने गर्दछ ।
त्यस्तै एक दृश्य गोरखामा देखिएको छ । नेकपा एमालेले पटक(पटक जेल परेका र प्रहरीको ुक्रिमिनल रेकर्डुमा १२ पटकभन्दा बढी मुद्दा खेपेका मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । एमालेको यो निर्णयसँगै ‘बाहुबली’हरूलाई सत्ताको सिँढी चढाउने दलीय प्रवृत्तिको पुनः चर्चा सुरु भएको छ।
२०५० सालदेखि नै एमालेमा आबद्ध रहेको दाबी गर्ने चक्रे मिलनको परिचय राजनीतिज्ञभन्दा बढी ‘गुण्डा नाइके’का रूपमा स्थापित छ। महाराजगञ्ज र चक्रपथ क्षेत्रलाई आफ्नो आधार इलाका बनाएर ठेक्कापट्टा, बालुवा खानी र कमिसन धन्दाबाट उदाएका उनले आफ्नो पाखुरामा सूर्यको ट्याटु समेत खोपेका छन् । कुनै समय एमाले नेता प्रदीप नेपालको निकट रहेका उनी दरबारसँग पनि उत्तिकै नजिक मानिन्थे ।
पछिल्लो समय गत साउनमा समेत महाराजगञ्जको होटलबाट पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योगसम्मका गम्भीर मुद्दाहरू लागेका थिए। यद्यपि, उनी हरेक पटक धरौटीमा रिहा हुँदै आएका छन् ।
आफ्नो सिफारिसलाई चक्रे मिलनले युवा तथा जेनजी पुस्ताको दबाब भन्दै लोकतान्त्रिक जलप लगाउने प्रयास गरेका छन् । उनी आफूलाई अपराधी नभई ुसाधारण नागरिक र समाजसेवीुका रूपमा प्रस्तुत गर्छन् । उता, स्थानीय एमाले नेताहरूले उनलाई स्वागतयोग्य व्यक्तित्व भनिरहँदा सर्वसाधारणमा भने त्रास र संशय पैदा भएको छ । चरी र घैँटेजस्ता समकालीनहरूको इन्काउन्टरपछि सुस्ताएको उनको सक्रियता अहिले चुनावको मुखमा पुनः बौरिएको छ।
गोरखा–२ मा यसअघि ठूला कम्युनिस्ट नेताहरूले चुनाव लड्दै आएको इतिहास छ । यस्तो संवेदनशील क्षेत्रमा एमालेले ुचक्रेु जस्तो विवादित पात्रलाई अगाडि सार्नुले पार्टीको छविका बारेमा पनि प्रश्न उठाएको छ । टिकट पाउने वा नपाउने कुराको टुङ्गो केन्द्रले लगाउन बाँकी रहे पनि, एउटा ुगुण्डा नाइकेुको नाम संसदको उम्मेदवारका रूपमा सिफारिस हुनु आफैँमा चुनौतीपूर्ण र रोचक विषय बनेको छ ।















