Logo

१९ पौष, काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर-७२ जहाज (कलसाइन ९०१) अवतरणका क्रममा रन वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना शुक्रबार राति ९ः१० बजे भएको हो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर गरी जम्मा ५६ जना सवार थिए ।

दुर्घटनामा ललितपुर-४ निवासी २४ वर्षीयको पाइलट सुशान्त श्रेष्ठसहित छ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुहरूमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ-१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन् ।

घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो । प्रहरी उपरीक्षक लिम्बुका अनुसार टाउको र अनुहारमा चोट लागेका को-पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना यात्रु सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उक्त जहाज काठमाडौँबाट शुक्रबार राति ८ः२३ बजे उडेको थियो । दुर्घटनापछि प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरी परिचालन गरी सबै यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको जनाइएको छ ।


सम्बन्धित समाचार