Logo

१९ पौष, वीरगञ्ज । अङ्ग्रेज फौजलाई पराजित गरी मुलुकको सार्वभौमिकता जोगाएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा आज शनिबार २११औँ विजय उत्सव भव्य रूपमा मनाइँदैछ । वि.सं. १८७१ पुस १८ र १९ गते गोर्खाली सेनाले ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजमाथि हासिल गरेको ऐतिहासिक जितको स्मरणमा पर्सागढी नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको हो ।

वीरताको सम्झना: यसरी हार मानेका थिए अङ्ग्रेज

इतिहासअनुसार १८७१ पुसको ठिहीमा अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको कमान रञ्जित चौधरीको हातमा थियो । स्थानीय बासिन्दाले राँगा र भैँसीका सिङमा मसाल बाँधेर गोर्खाली फौज ठूलो सङ्ख्यामा आएको भ्रम सिर्जना गरी रणनीतिक रूपमा अङ्ग्रेजलाई हराएको रोचक र गौरवपूर्ण इतिहास यहाँको माटोमा दबिएको छ ।

विजय उत्सवको अवसरमा नेपाली सेनाको श्रीजङ्ग गणले ऐतिहासिक वेशभूषा र ब्यान्डबाजासहित पदयात्रा गर्ने तयारी गरेको छ । “हामीले राष्ट्रिय गीत र विशेष प्रदर्शनीमार्फत त्यो वीरताको इतिहासलाई पुनर्जीवित गर्ने प्रयास गरेका छौँ,” प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

पौष १३ गते गरिएको पत्रकार सम्मेलन

ऐतिहासिक युद्धस्थल अतिक्रमणको चपेटामा, तीनै तहको सरकारलाई ध्यानाकर्षण

उत्सवको उल्लासका बीच ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसकेकोमा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कुनै समय १८९ बिघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक पर्सागढी क्षेत्र अहिले अतिक्रमणका कारण मात्र डेढ बिघामा खुम्चिएको छ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले दुःख व्यक्त गर्दै भने, “पर्सागढीको मुख्य संरचना समेत अहिले निजी व्यक्तिको नाममा दर्ता भएको अवस्था छ। अतिक्रमण फिर्ता ल्याउने प्रयास भए पनि सफल हुन सकेको छैन।”

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले यो युद्धस्थलकै कारण नेपाल स्वतन्त्र राष्ट्र रहन सफल भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा विकास गर्नुपर्ने बताए । “अतिक्रमणका कारण व्यवस्थित गर्न कठिनाइ भइरहेको छ, यसपटकको उत्सवले सङ्घ र प्रदेश सरकारको ध्यान खिच्ने हाम्रो विश्वास छ,” उनले भने ।

हाल सो क्षेत्रमा युद्धको नेतृत्व गर्ने रञ्जित चौधरीका कुलदेवता वन्हरबाबाको मन्दिर र धर्मशाला रहे पनि ऐतिहासिक हतियारहरू सङ्ग्रह गर्ने सङ्ग्रहालयको अभाव खड्किएको छ । स्थानीयले विजय उत्सवलाई केवल औपचारिकतामा सीमित नराखी ऐतिहासिक सम्पत्तिको संरक्षण र सीमा निर्धारण गर्न माग गरेका छन् ।


सम्बन्धित समाचार