Logo

१९ पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको मर्मअनुसार मुलुकलाई नयाँ जनादेश आवश्यक भएकाले संसद् पुनःस्थापना नहुने स्पष्ट पारेका छन् ।

प्रेस सेन्टरले शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक दाहालले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले अब देश चुनावतर्फ अग्रसर भइसकेको बताए । “निर्वाचनका लागि राजनीतिक दलहरूले बन्द सूचीसमेत निर्वाचन आयोगमा बुझाइसकेका छन्, अब देश निर्वाचनमै जाने निश्चित छ,” उनले भने ।

दाहालले अहिलेकै सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराउन सक्षम रहेको दाबी गरे । संसद् पुनःस्थापना वा सरकार पुनर्गठनको सम्भावना नरहेको उल्लेख गर्दै उनले सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने अवस्था नरहेको बताए ।

शनिबार काठमाडौँ फर्किनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसभाबाट संविधान निर्माणका क्रममा १० वर्षपछि संविधानको समीक्षा गरी आवश्यक संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता गरिएको स्मरण गराए । नयाँ जनादेश प्राप्त भएपछि सोही आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।

जेनजी आन्दोलनले उठाएको माग र जनभावनालाई मध्यनजर गर्दै वर्तमान राजनीतिक दलहरूले जनताबाट पुनः अनुमोदन लिन आवश्यक रहेको उनले बताए । निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा संसद् पुनःस्थापना सम्भव नरहेको र हालकै सरकारले निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा दाहालले दोहोर्‍याए ।

संयोजक दाहाल शुक्रबार नेकपा सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन सहसंयोजक माधवकुमार नेपालसँगै खाँदबारी आएका थिए । दाहाल शनिबार हवाईमार्ग हुँदै काठमाडौँ फर्किएका छन् भने सहसंयोजक नेपाल धनकुटामा हुने नेकपाको एकता घोषणा कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै