Logo

२० पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको रक्षा गर्नुपर्ने संवेदनशील अवस्थामा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बाहिर ननिस्किएको आरोप लगाएका छन् ।

शनिबार नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्न धनकुटा पुगेका नेता नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफूलाई ठूला दल भन्ने कांग्रेस र एमाले लुकेको दाबी गरे । देश संकटमा पर्दा जिम्मेवारी लिनुपर्ने दलहरू भित्रै सीमित भएको भन्दै उनले ती दलको कडा आलोचना गरे ।

नेता नेपालले भने, “राष्ट्रपतिको फोन आएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट म बाहिर निस्किएर राष्ट्रपतिलाई भेट्न गएँ, तर कांग्रेस र एमालेजस्ता ठूला दल बाहिर निस्किएनन् ।” उनले देश र लोकतन्त्र जोगाउने बेलामा नेतृत्व देखिन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले गणतन्त्र र संघीयताको रक्षा गर्न तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । अहिलेको सुशीला कार्की नेतृत्वको सरकार स्वीकार्य रहेको उल्लेख गर्दै यही सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने बताए । निर्वाचनको कुनै विकल्प नरहेको भन्दै संघीयता र संविधान रक्षाका लागि सबै शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

देशको विकास र परिवर्तनका लागि पार्टी एकता आवश्यक रहेको बताउँदै नेपालले विभिन्न दल मिलेर हाल १८ वटा पार्टी एक भएको जानकारी दिए । नेपाली समाजवाद आफ्नो पार्टीमा मात्रै रहेको दाबी गर्दै उनले गणतन्त्र र संघीयता जोगाउन पार्टी एकता अपरिहार्य भएको बताए ।

नेता नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आग्रह गर्दै अबको विकास र समृद्धिको नेतृत्व आफ्नो पार्टीले मात्र गर्न सक्ने दाबी गरे ।


सम्बन्धित समाचार
भर्खरै