२० पौष, काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पछिल्लोपटक थपिएका मतदातालाई मात्र मतदाता परिचयपत्र उपलब्ध गराउने भएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नाम दर्ता भएका ९ लाख १५ हजार १ सय १९ जना नयाँ मतदातालाई मात्रै यसपटक परिचयपत्र वितरण गरिनेछ ।
२०७९ सालको निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेकामा हाल मतदाता संख्या बढेर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको आयोगले जनाएको छ । पुराना मतदातालाई यसअघि नै परिचयपत्र वितरण भइसकेकाले समय अभावका कारण यसपटक नयाँ मतदातालाई मात्र परिचयपत्र दिन लागिएको आयोगको स्पष्टिकरण छ । हराएको वा बिग्रिएको परिचयपत्र पुनः वितरण गर्न यसपटक सम्भव नहुने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदानको केही दिनअघि मतदान केन्द्रमा खटिएका कर्मचारीमार्फत नयाँ मतदातालाई परिचयपत्र वितरण गरिनेछ । यद्यपि, सरोकारवाला मतदाता वा राजनीतिक दलले आवश्यक परेमा निश्चित दस्तुर तिरेर मतदाता परिचयपत्रको सफ्ट कपी लिन सक्ने व्यवस्था कायम रहेको छ ।
यसैबीच आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र छपाइ सुरु गरेको जनाएको छ । छापिएका परिचयपत्र जिल्ला निर्वाचन कार्यालयमार्फत सम्बन्धित स्थानमा पठाइनेछन् । आगामी निर्वाचनका लागि देशभर २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रका लागि चार सेटका दरले मतदाता नामावली छापिनेछ, जसअनुसार कुल ९२ हजार ४ सय ४८ सेट नामावली तयार गरिने आयोगले जनाएको छ ।
यता आयोगले निर्वाचनका लागि करिब चार करोड मतपत्र छाप्ने तयारी पनि अघि बढाएको छ । प्रवक्ता नारायण भट्टराईका अनुसार आउँदो सातादेखि मतपत्र छपाइ सुरु हुनेछ । सुरुमा समानुपातिक प्रणालीका मतपत्र छापिनेछन्, जहाँ ६४ राजनीतिक दल दर्ता छन् । यसपटक समानुपातिकतर्फको मतपत्र सेतो पृष्ठभूमिमा कालो अक्षरमा छापिने प्रस्ताव गरिएको छ ।
प्रत्यक्षतर्फ उम्मेदवारलाई माघ ९ गते निर्वाचन चिह्न दिएपछि १५ माघबाट मतपत्र छपाइ सुरु गरिने र १० फागुनसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने तयारी आयोगको छ । विगतझैँ यसपटक पनि १० प्रतिशत अतिरिक्त मतपत्र छापिनेछ । आयोगले जनक शिक्षा सामग्री लिमिटेडकै मेसिन प्रयोग गरेर मतपत्र छपाइ गर्ने जनाएको छ ।















