Logo

२० पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी दिल्ली जाने भएका छन्।

नेकपा निकट प्रवासी नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दाहाल आज राति ८ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलबीच एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरूको संयुक्त एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।

सचिवालयका अनुसार दाहालको भ्रमण पूर्णतः पार्टी तथा प्रवासी नेपाली समुदायसँग सम्बन्धित कार्यक्रममै सीमित रहनेछ । भ्रमणका क्रममा भारतीय सरकारका अधिकारीहरूसँग औपचारिक भेटघाट गर्ने कुनै कार्यक्रम तय नभएको पनि स्पष्ट पारिएको छ ।

नेपालमा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यद्यपि सचिवालयले यो भ्रमणलाई नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिको निरन्तरता भएको बताएको छ ।

संयोजक दाहालले दिल्लीमा प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्नुका साथै एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै स्वदेश फर्किने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै